म्यानचेस्टर सिटीका कप्तान र डिफेन्डर काइल वाकरले क्लब छोडेर विदेशमा अवसर खोज्ने आफ्नो इच्छा व्यक्त गरेका छन् । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाद्वारा वाकरले क्लब छाड्न सक्ने पुष्टि गरेका हुन् ।

३४ वर्षीय वाकरले पछिल्लो सात वर्षदेखि क्लबलाई सफलतामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन् । उनी अब आफ्नो फुटबल करियरलाई नयाँ गन्तव्यतर्फ लैजान चाहन्छन् ।

पेप गार्डिओलाले भने, “दुई दिनअघि काइलले आफ्नो करियरको यो चरणमा विदेशमा खेल्ने चाहना व्यक्त गरे । म उहाँप्रति धेरै सम्मान गर्दछु र उहाँले यो क्लबको लागि गरेका योगदानहरूलाई सधैं कदर गर्नेछु ।”

२०१७ मा टोटनह्याम हट्सपरबाट म्यानचेस्टर सिटी आएका वाकर क्लबका सफलताहरूको अभिन्न हिस्सा बनेका छन् । उनले सिटीलाई ६ प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग ट्रफी र धेरै घरेलु कप जिताउन महत्वपूर्ण योगदान गरेका छन् । तर, यस सिजन उनले केवल ९ प्रिमियर लिग खेलमा मात्र सुरुवात गरेपछि, नयाँ चुनौतीको खोजीमा देखिएका छन् ।

एसी मिलान र साउदी प्रो लिगका क्लबहरूले वाकरमा चासो देखाएको खबर आए पनि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव आएको छैन । गार्डिओलाले अन्तिम निर्णय क्लबको हुने बताउँदै भने, “काइल हाम्रो सबैभन्दा महत्वपूर्ण खेलाडीहरू मध्ये एक हुन् । जे भए पनि, उहाँप्रति हाम्रो सम्मान सधैं रहनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *