साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा अल नासरले अल फतेहमाथि ३-१ को सहज जित निकालेको हो ।

अल नासरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान क्रिष्टियानो रोनाल्डो र मोहमेद सिमाकानले एक–एक गोल गर्दा अर्को गोल भ्रमणकारी टोलीका मार्वान सादानेको आत्मघातीमार्फत् प्राप्त गर्यो ।

पराजित टोलीका लागि भने मौराद बान्ताले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता पनि अल नासरले नै लिएको थियो । खेलको ४१औं मिनेट अल फतेहका सादानेले आत्मघाती गोल गरेपछि अल नासरले पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

खेलको ५७औं मिनेटमा सिमाकानले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । तर, खेलको ७२औं मिनेटमा बान्ताले अल फतेहका लागि गोल फर्काउँदा खेल २-१ को स्थितिमा आयो ।

त्यसपछि खेलको ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दा अल नासेर ३-१ ले विजयी भयो । रोनाल्डोको यो करिअरको ९२०औं गोल हो ।

जितसँगै अल नासर १७ खेलबाट ३५ अंकका साथ लिगको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल हिलालको १६ खेलबाट ४३ अंक छ । पराजित अल फतेह भने १७ खेलबाट ९ अंक जोडेर लिगको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *