प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा आज (बुधबार) दुई वटा खेल हुँदैछन् ।

प्रतियोगिताको दोस्रो दिन आज पहिलो खेलमा बिहान ९ बजे बिभागीय टोली नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश भिड्दै छन् । त्यस्तै दिउँसो १ बजे हुने खेलमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । दुबै खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् । सुदूरपश्चिमले गण्डकी प्रदेश र एपीएफले कर्णाली प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन्। 

आगामी माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

दुवै समूहको शीर्ष दुई टोली सुपर फोर राउण्डमा प्रवेश गर्नेछन् । जहाँ समूह ‘ए’ को शीर्ष दुई टोलीले समूह ‘बी’ का शीर्ष दुई टोलीसँग खेल्नेछन् । सुपर फोरमा एकै समूहको टोलीबीच भने खेल हुने छैन । सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना तथा नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २० हजार  रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *