जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलअन्तर्गत पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लबविरूद्ध नेपाल पुलिस क्लबले मध्यम सुरुआत गरेको छ ।

विभागीय डर्बी फाइनल मौसमका कारण प्रभावित बन्यो । बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल २ बजे आसपास मात्र सुरु भयो । तीन दिवसीय फाइनलको पहिलो दिन बाक्लो हुस्सुले खेल प्रभावित बनेपछि १७ ओभरको खेल मात्र सम्भव भयो ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको समाप्तिमा १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

पुलिसका लागि कुशल भुर्तेल ५१ बलमा ६ चौकाको मद्दतले ५० रन बनाएर खेलिहरेका छन् । यसैगरी अर्जुन साउदले १३ बल फेस गर्दा पनि खाता नखोली नटआउट रहेर पहिलो दिनको खेल टुंग्याए ।

पुलिसका दिलीप नाथ पहिलो बलमै आउट भएका थिए भने अमित श्रेष्ठले ३९ बलमा २० रन बनाएर आउट भए । पुलिसले अहिलेसम्म अतिरिक्त १५ रन पाएको छ ।

बलिङतर्फ आर्मीका सोमपाल कामी र सहाव आलमले समान एक-एक विकेट लिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी प्रतियोगितामा ४ टिमले सहभागिता जनाएका थिए । बागमती र मधेस प्रदेश समूह चरणबाटै बाहिरिएका हुन् । तालिकाको शीर्ष २ स्थानमा रहेका टोली पुलिस र आर्मि उपाधि भिडन्तमा उत्रिएका हुन् । बुधबार विहान साढे ९ बजेदेखि दोस्रो दिनको खेल सुरुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *