आईसीसी यु१९ महिला विश्वकप अन्तर्गतको दोस्रो अभ्यास खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार सवा ८ बजेदेखि सुरू हुनेछ ।

पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो । अमेरिकाले भने न्युजिल्याण्डलाई हराएको थियो ।

विश्वकपमा सहभागी हुनका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसियामा छ। टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा प्रशिक्षकमा महेश प्रसाद रिजाल छन् ।

जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यु-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता छ जहाँ चार समूहमा १६ टिमको विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल समूह ‘डी’मा रहेको छ । नेपाल रहेको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्यान्ड छन् ।

नेपालले १८ जनवरीमा बंगलादेशसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । नेपालले २० जनवरीमा स्कटल्याण्ड र २३ जनवरी मा अस्ट्रेलियासँग खेल्नेछ । यु१९ महिला विश्वकपमा नेपाल पहिलो पटक सहभागी हुँदैछ ।

नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *