कुशल परेराको शतकप्रेरित श्रीलंकाले घरेलु टिम न्युजिल्यान्डविरुद्धको अन्तिम टि-२० खेलमा ७ रनको जित निकालेको छ ।
बिहीबार न्युजिल्यान्डको नेल्सनमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो ।
श्रीलंकाबाट तेस्रो क्रमका ब्याटर कुशल परेराले १०१ रनको शतकीय इनिङ खेले । उनले ४६ बलमा १३ चौका र चार छक्का प्रहार गरे । टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो पहिलो शतक हो । योसँगै उनी टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन जोड्ने पहिलो क्रिकेटरसमेत बने ।
परेराबाहेक, कप्तान चरिथ असलंकाले २४ बलमा पाँच छक्का र एक चौकासहित ४६ रन बनाए । ओपनर कुशल मेन्डिसले २२, अभिस्का फर्नान्डोले १७ र पथुम निसांकाले १४ रन थपे ।
न्युजिल्यान्डका म्याट हेन्री, जाकोप डफी, जाकारी फकेस, मिचेल स्यान्टनर र डार्यल मिचेलले समान एक विकेट लिए ।
२१९ रनको लक्ष्यसहित मैदान उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २११ रनमात्र बनाउन सक्यो ।
न्युजिल्यान्डका रचिन रविन्द्रले ६९ रन बनाए पनि हार टार्न सकेनन् । टिम रोबिन्सनले ३७, डार्यल मिचेलले ३५, जाकारी फकेसले २१ र कप्तान मिचेल स्यान्टनरले १४ रन जोडे ।
श्रीलंकाका चरिथ असलंकाले तीन विकेट लिए । वनिन्दु हसरंगाले दुई विकेट लिँदा नुवान थुसारा र महिस थिक्षणाले समान एक विकेट लिए ।
श्रीलंकाको जितका बावजुद तीन खेलको टि-२० शृंखला भने न्युजिल्यान्डले जितेको छ । न्युजिल्यान्डले श्रृंखला २-१ ले जितेको हो । यसअघि श्रृंखलाको पहिलो खेलमा न्युजिल्यान्डले आठ र दोस्रो खेलमा ४५ रनको जित निकालेको थियो ।
यी दुई टिमबीच अब तीन खेलको एकदिवसीय श्रृंखला हुनेछ । एकदिवसीय श्रृंखला आइतबारदेखि सुरु हुनेछ ।
