विभूषण कोइराला, भक्तपुर

जय ट्रफी यहि डिसेम्बर ५ गते देखि जनकपुर र पर्सामा आयोजना हुँदैछ । प्रधानमन्त्री कपको शीर्ष ४ टोलिले खेल्ने यस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब , बागमती प्रदेश र मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । त्यस अन्तर्गत आज हामी बागमती प्रदेश टोलीको पूर्वावलोकन गर्दै छौं ।

प्रधानमन्त्री कपमा तेस्रो स्थानमा रहेर जय ट्रफीमा छनोट भएको बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । टि २० र ओडिआई फर्म्याटमा उत्कृष्ट प्रदर्शन गर्ने लामिछानेले रेड बल क्रीकेटमा पनि आफ्नो कौशलता देखाएका छन । २०१९ मा एमसीसीविरुद्ध दुई दिवसीय क्रिकेट खेलेका सन्दिपले दुई इनिङमा ३ विकेट लिएका थिए भने ६४ रन बनाएका थिए ।

सन्दीपसँगै अष्ट्रेलियामा रेड बल खेल्दै आएका नन्दन यादवले पनि बागमतीबाट खेल्ने छन् । राइट आर्म मिडियम पेसर नन्दन, नयाँ बलले विकेट निकाल्ने क्षमता राख्छन् । त्यस्तै नेपाल राष्ट्रिय टोलीबाट खेलिसकेका रिजन ढकाल र प्रतिश जिसी बागमतीबाट लेफ्ट आर्म मिडियम पेसको रुपमा खेल्ने छन् । बाहिर र भित्र दुइतिरै स्विङ गराउन सक्ने रिजन र प्रतिश ब्याटरको लागि खतराको घण्टी हुन सक्छन् ।

प्रधानमन्त्री कपमा उत्कृष्ट बलर भएका सुर्य तामाङ र यु१९ का स्टार तिलक भण्डारीले सन्दीपलाई स्पिनबाट सघाउने छन् । सन्दीप, नन्दन, रिजन, प्रतिश, सुर्य र तिलकको उपस्थितले बागमतीको बलिङ निकै नै बलियो देखिएको छ ।

बलिङ निकै नै बलियो रहेको बागमतीको ब्याटिङ पनि सन्तुलित छ । युवा ब्याटरले भरिएको बागमतीमा रित गौतम र आशुतोश घिरैयाले ब्याटिङको जिम्मेवारी लिनुपर्ने छ । नेपालको उमेर समुहमा निकै नै राम्रो गर्न सफल रित र प्रधानमन्त्रीबाट आफुलाइ प्रमाणित गरेका आशुतोशले बागमतीको ओपनीङ समाल्ने छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका इशान पाण्डेको ब्याटिङ चल्न सकेको खण्डमा बागमति निकै नै बलियो देखिने छ । बलिङमा अनुभवी बलर भएता पनि ब्याटरमा भने केही नाम बाहेक त्यति अनुभव नरहेको बागमतीले यस प्रतियोगिता जित्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *