घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज २-० ले जित्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ ।
मंगलबार सकिएको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले पराजित गर्दै सिरिज सहजै आफ्नो पक्षमा परेको हो ।
यसअघि पहिलो टेस्टमा दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको थियो ।
दोस्रो टेस्टमा पाकिस्तानले दिएको ५८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले विकेट नगुमाई पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा ओपनरद्वय डेविड बेडिङ्घम र आइडन मार्करमले क्रमशः ४७ र १४ रन जोडे ।
त्यसअघि, दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६१५ रनको विशाल योगफल खडा गरेको थियो । पहिलो इनिङमा पाकिस्तान भने १९४ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाबाट फलो-अन पाएपछि पुनः ब्याटिङ गर्न ओर्लिएको थियो ।
पाकिस्तानले दोस्रो इनिङमा भने ४७८ रन बनाउँदै ५८ रनको योगफल तया पारेको थियो । जसलाई दक्षिण अफ्रिकाले सहजै पूरा गर्यो ।
पहिलो इनिङमा दक्षिण अफ्रिकाका र्यान रिकेल्टनले सर्वाधिक २५९ रन बनाएका थिए । यसबाहेक, कप्तान टेम्बा बवुमाले १०६ र काइल भेरेयनीले १०० रन जोडेका थिए ।
पहिलो इनिङमा पाकिस्तानबाट भने बाबर आजमले ५८ रनको अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । फलो-अन पाएपछि लगत्तै ब्याटिङमा आएको पाकिस्तानबाट कप्तान सान मसुदले १४५ र बाबर आजमले ८१ रन बनाएका थिए ।
दोस्रो टेस्टमा दक्षिण अफ्रिकाका र्यान रिकेल्टन म्यान अफ द म्याच भए । यसैगरी दक्षिण अफ्रिकाकै मार्को जेन्सन म्यान अफ द सिरिज बनेका छन् ।
