प्रथम खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल संघले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत गरेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राति सम्पन्न फाइनलमा नेपालको महिला र पुरुष दुवै टोली आयोजक भारतसँग पराजित भएको थियो ।
पुरुष टोलीले ५४-३६ को हार बेहोर्दा महिला टोलीले भारतलाई ७४-४० को अन्तरमा नतिजा सुम्पियो । फाइनलमा पराजय बेहोरे पनि नेपाली खेलकुदका लागि यो एउटा ऐतिहासिक उपलब्धि रह्यो । नेपाली टोलीले कुनै पनि विश्वकपमा फाइनल यात्रा तय गरेको यो पहिलो पटक हो ।
नेपाली महिला टोली समूह ‘सी’ को विजेता बन्दै क्वार्टरफाइनलमा आएको हो । नेपाली महिला टोलीले समूह चरणमा भुटानविरुद्ध ८३–२४, जर्मनीविरुद्ध ७३–३४, श्रीलंकाविरुद्ध ११०–१० र बंगलादेशविरुद्ध ८३–२४ को जित निकालेको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३-८ तथा सेमिफाइनलमा युगाण्डालाई ८९-१८ ले हराएको थियो ।
नेपाली पुरुष टोली समूह ‘ए’ को उपविजेता बन्दै क्वार्टरफाइनल पुगेको थियो । समूह चरणमा भारतसँग ४२-३७ ले पराजित भएको नेपालले पेरुलाई ८०-३४, ब्राजिललाई १३४-८ र भुटानलाई ९८-८ अंकले हराएको थियो । नेपालले क्वार्टरफाइनलमा बंगलादेशविरुद्ध ६७-१८ तथा सेमिफाइनलमा इरानलाई ७२-२० ले हराएको थियो ।
