विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको प्लेअफमा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा वालिङ नगरपालिकालाई ४-१ ले हराउँदै पुलिस तीन खेल अगावै शीर्ष चारमा पर्ने पक्का भएको हो ।

पुलिसलाई सहज जित दिलाउन कप्तान निरु थापा, अनुष्का शेर्पा र पूजा रानाले समान एक-एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहारका रुपमा प्राप्त गर्यो । वालिङका लागि यशोधाकुमारी चिरालले सान्त्वना गोल फर्काइन् ।
पहिलो हाफमै गरेको गोल नै पुलिसलाई तेस्रो जित दिलाउन पर्याप्त रह्यो । खेलको १५औं मिनेटमा निरुले पुलिसलाई सुरुआती अग्रता दिलाइन् ।
२८औं मिनेटमा अनुष्का टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको चार मिनेटपछि पूजाले गोल गरेपछि पुलिस ३-० ले अघि बढ्यो ।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा वालिङकी डिफेन्डर धना बोहराले पुलिसलाई एक गोल उपहार दिइन् । यो गोलसँगै पुलिस पहिलो हाफमा ४-० ले अगाडि रह्यो र दोस्रो हाफमा वालिङले गोल फर्काए पनि हार भने टार्न सकेन ।
निर्धारित समय सकिन पाँच मिनेट बाँकी छँदा कप्तान माया मास्केको लोफ्टेड पासलाई सदुपयोग गर्दै यशोधाले सान्त्वना गोल फर्काइन् । अन्तिम चरणमा वालिङले गरेको यो पहिलो गोल हो ।

खेलको प्लेयर अफ दि म्याच पुलिसकी पूजा राना घोषित भइन् ।
जितसँगै पुलिस पाँँच खेलबाट १० अंंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको वालिङ अंकविहिन छ ।
