नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी क्लब झापा एफसीको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् ।
मंगलबार क्लबले चैत तेस्रो सातादेखि सुरु हुने एनएसएलको तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको हो ।
कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वअन्तरिम प्रमुख प्रशिक्षक पनि हुन् । कटुवालले मछिन्द्र फुटबल क्लबलाई लगातार २०७६ र २०७८ मा दुईपटक शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसईएम) को आयोजनामा नेपाल सुपर लिग फुटबलको तेस्रो संस्करण आगामी चैत १६ देखि सुरु हुँदै छ । लिगका सबै खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछन् ।
चौधरी ग्रुपनिकट कम्पनी नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग स्वीकृति लिएर अगाडि बढाएको एनएसएलको पहिलो सिजन २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो ।
उक्त सिजन सात क्लबले मात्रै खेलेका थिए। दोस्रो सिजन २०२३ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म सञ्चालन हुँदा थप तीन टोलीलाई समावेश गरिएको थियो । नौ टोली खेल्दा झापाले पाँचौँ स्थानमा रहेर सिजन समाप्त गरेको थियो ।
