एन्फा महिला लिगको अन्तिम चरणको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा २-१ ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसलाई जित दिलाउन गोलरक्षक उषा नाथ नायक बनिन् । उनले आर्मीको ३ पेनाल्टी प्रहार रोक्दा एक गोल गरिन् ।

टाइब्रेकरमा दुई टिमका १० खेलाडीले पेनाल्टी प्रहार गरे। जहाँ मात्र ३ गोल संभव भयो ।  पुलिसको जितमा गोलकिपर उषा नाथ र बिमला चौधरीले गरे । पुलिसका दुई प्रहार भने आर्मीकी अञ्जना राना मगरले बचाएकी थिइन् ।

आर्मीका लागि गोलरक्षक अञ्जना राना मगरले मात्रै गोल गरिन् । आर्मीका तीन खेलाडीको प्रहार पुलिसकी उषाले बचाएकी थिइन् । आर्मीको एक प्रहार भने पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, अतिरिक्त ३० मिनेटको खेल पनि गोलरहित बराबरीमै सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच पुलिसकी गोलरक्षक उषा नाथ घोषित भइन् ।

जारी लिगमा पुलिसले आर्मीलाई हराएको यो पहिलो पटक हो । यसअघिको दुई खेल बराबरीमा सकिंदा एक खेल भने आर्मीले जितेको थियो । 

पुलिस क्लबले अब उपाधिका लागि अर्को विभागीय टोली एपीएफ क्लबको सामना गर्नेछ । उपाधि भिडन्त बुधबार दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *