इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले रेलिगेसन क्षेत्रमा रहेको इप्सविच टाउनलाई ६-० गोलअन्तरले हराएको हो ।

इपस्विचको घरेलु मैदानमा सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गर्दा माटियो कोभासिस, जेरेमी डोकु, एर्लिङ हालान्ड र जेम्स मकाटीले समान एक गोल गरे ।

खेलको २७औँ मिनेटमा फोडेनको गोलमार्फत सिटीले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि कोभासिसले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । खेलको ४२औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी पहिलो हाफमा ३-० को अग्रता लिन सफल भयो ।

खेलको ४९औँ मिनेटमा डोकुले गोल गर्दा सिटीको अग्रता ४-० मा पुग्यो । खेलको ५७औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता ५-० को स्थितिमा पुर्‍याए । त्यसपछि खेलको ६९औँ मिनेटमा जेम्सले गोल गर्दै म्यानचेस्टर सिटीलाई ६-० को फराकिलो जित दिलाए ।

जितसँगै सिटी २२ खेलमा ३८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । रेलिगेसन क्षेत्रमा रहेको एप्सविच समान खेलबाट १६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *