रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार राती भएको खेलमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले पराजित गर्दै रियल क्वारटर फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार रियालको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा दुवै टोलीले निर्धारित समयमा २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

रियलको जितमा एन्ड्रिकले दुई तथा केलियन एम्बाप्पे, भिनिसियस जुनियर र फेडरिको भाल्भार्डेले समान एक गोल गरे । सेल्टा भिगोका जोनाथन बाम्बा र मार्कस अलोन्सोले गोल गरे ।

खेलको ३७औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा रियललाई १-० को अग्रता दिलाएका थिए । ४८औं मिनेटमा भिनिसियसले टोलीको अग्रता दोब्बर बनाए ।

बम्बाले ८३औं मिनेटमा सेल्टाका लागि एक गोल फर्काए । इन्जुरी सामयमा अलन्सोले पेनाल्टीमार्फत गोल गर्दै सेल्टालाई २-२ को बराबरीमा ल्याए ।

एन्ड्रिकले १०८औं मिनेटमा गोल गर्दै रियाललाई ३-२ को अग्रता दिलाए । ११२औं मिनेटमा भाल्भर्डेले टोलीका लागि चौथो गोल गरे । खेल सकिन एक मिनेट बाँकी रहँदा एन्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई सहज जित दिलाए ।

बिहीबारै सम्पन्न अन्य खेलमा रियाल सोसिडाडले रायो भायकोनोलाई ३-१ र ओसुनाले एथलेटिक्स क्लब बिल्बाओलाई ३-२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *