अमद डियालोले १२ मिनेट भित्र गरेको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहिबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
एक गोलले पछि परेको अवस्थामा डियालोले अन्तिम समय भित्र गरेको ह्याट्रिकले युनाइटेडलाई महत्त्वपूर्ण तीन ३ अंक दिलाउन सफल भएको हो ।
खेलको ४३औं मिनेटमा युनाइटेडका उगार्टेले आत्मघाती गोल गर्दा साउथह्याम्प्टनले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । एक गोलले पछि रहेको युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो ।
खेलको ८२औं मिनेटमा डियालोले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । त्यसपछि ९०औं मिनेटमा डियालोले ब्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।
इन्जुरी समयको चौथो मिनेटमा डियालोले आफ्नो ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३-१ को पुनरागमन जित दिलाए ।
जितसँगै युनाइटेडले २१ खेलबाट २६ अंक जोडेर लिगको १२औं स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टनको भने समान २१ खेलमा ६ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।
बिहिवार राती भएको लिगकै अर्को खेलमा ब्राइटनले इप्स्विच टाउनलाई २-० गोलले हरायो ।
