आइसिसी महिला यु-१९ विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार आफ्नो दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । 

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । 

यो नेपालको लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । यो हारसँगै नेपालको सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।

दोस्रो पटक विश्वकपममा सहभागिता जनाइरहेको स्कटल्याण्डको यो पहिलो जित हो । पहिलो खेलमा स्कटल्याण्ड अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन बनाएर अलआउट भयो ।

कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् ।

अब समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपालले बुधबार अस्ट्रेलियासँग खेल्ने छ ।

नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलियाले २ खेलबाट ४ अंक जोड्दा बंगलादेश र स्कटल्याण्डको समान २ अंक छ । नेपाल भने अंकविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *