प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको दिनको पहिलो खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई १४ रनले पराजित गरेको हो ।

बागमतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मीले १३.२ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो ।

आर्मीकी ओपनर अञ्जली विश्वकर्माले सर्वाधिक १४ रन बनाइन् । १६ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् । नगिमा तामाङ १३ र कप्तान लक्ष्मी साउद १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीकी सोनु खड्का, मनीषा उपाध्यय र कञ्चनले समान दुई विकेट लिँदा संस्कृति फुँयाल र विपिशा शाहीले समान एक विकेट लिए ।

त्यसअघि खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा २ विकेट गुमाएर ८१ रन जोड्यो ।

बागमतीका लागि यसु पाण्डेले २५, कप्तान कञ्चन श्रेष्ठले २४ तथा यसोधा विष्टले २० रन जोडिन् । १२ रन बागमतीले अतिरिक्तमा पायो ।

आर्मीका लागि ईश्वरी विष्ट र लक्ष्मी साउदले समान १ विकेट लिए ।

जितसँगै समूह ‘बी’ मा रहेको बागमतीले दुई खेलबाट दुई अंक जोडेको छ । पराजित आर्मीको पनि समान खेलबाट दुई अंक छ । समूह ‘बी’ मा आर्मी र बागमतीसँगै कोशी र मधेस प्रदेश रहेका छन् ।

बागमती पहिलो खेलमा कोशी प्रदेशसँग १० रनले पराजित भएको थियो । आर्मीले भने मधेश प्रदेशलाई १० विकेटले पाखा लगाएको थियो ।

दिनको दोस्रो खेलमा कोशी र मधेस प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

समूह ‘ए’ बाट एपिएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *