बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।

बुटवलको रामनगर खेल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतीय क्लब गुजरात भलिबल एसोसियसनलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पहिलो सेट २५-२७ ले गुमाएको पुलिस त्यसपछिका तीन सेट लगातार जित्दै खेलमा पुनरागमन जित निकाल्न सफल भयो ।

पुलिसले पछिल्ला तीन सेट क्रमशः २५-१४, २५-२१ र २७-२५ ले जित्दै खेलको नतिजा आफ्नो पक्षमा पार्यो । पुलिसले समूह ए को विजेता तथा गुजरातले समूह बी को उप- विजेताको रुपमा पहिलो सेमिफाइनल खेल खेलेका हुन् ।

आज नै हुने दोश्रो सेमिफाइनल खेलमा समूह बी को विजेता विभगीय टोली त्रिभुवन आर्मी क्लब र समूह ए को उप-विजेता मणिमुकुन्द भिड्ने छन् । सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *