बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो-नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल स्थगित भएको छ ।
बुटवल उपमहानगरपालिका १० स्थित रामनगर खेल मैदानमा त्रिभुवन आर्मी र मणीमुकुन्द भलिबल क्लबबीच भएको खेलको पहिलो सेट पनि पूरा हुन सकेन् ।
पहिलो सेटको खेल सुरु हुँदा त्रिभुवन आर्मी र मणीमुकुन्द दुबै टोलीले समान २-२ अंक जोडेर खेल्दै गर्दा आजको लागि खेल स्थगित भएको हो ।
मौसममा आएको प्रतिकुलताका कारण शितलहर भएपछि मैदान खेल्न योग्य हुन सकेन । चिप्लिएर खेलाडीहरु घाईते हुन सक्ने भन्दै आयोजकले आजकालागि खेल स्थगित गरेको हो ।
आज स्थगित भएको खेल भोली पुनः सुचारु हुनेछ । खेल स्थगित भएपछि टिकट काटेर खेलहेर्न पुगेका दर्शहरुले पैसा फिर्ता हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । आयोजकले आज काटेको टिकटबाट भोलीको खेल हेर्न सकिने बताएपछि दर्शक साम्य बनेका थिए ।
आर्मी र मणीमुकुन्दबीचको विजेताले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिस क्लब आजै भएको पहिलो सेमिफाइनल खेलमा गुजरात स्टेटलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको थियो ।
प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
