बुटवल । बुटवलमा जारी मदन भण्डारी इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को सेमिफाइनलमा भिड्ने टोलीहरुको टुङ्गो लागेको छ ।

बुटवलको रामनगर खेल मैदानमा भइरहेको प्रतियोगितामा सोमबार समूह चरणका खेलहरु टुङ्गिएसँगै सेमिफाइनलमा भिड्ने टोलीको टुङ्गो लागेको हो ।

सोमबार सम्पन्न दिनको दोश्रो तथा समूह चरणको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आर्का विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराएको छ । आर्मीले एपीएफलाई क्रमशः २५-१७, २५-२१, १९-२५ र २५-१५ ले पराजित गर्यो ।

यससँगै आर्मी समूह चरणका ३ वटै खेलमा अपराजित रहन सफल भएको छ । समूह चरणमा शतप्रतिशत जित निकालेको आर्मी समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा प्रवेश गर्दा यसै समूहबाट भारतीय क्लब गुजरात भलिबल एसोसियसन उप-विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

यसअघि सोमबार नै भएको दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई क्रमशः २५-१८, २५-१९ र २८-२६ गरि ३-० को सोझो सेटमा पराजित गरेको थियो । रुकुम पश्चिमलाई हराएसँगै पुलिस पनि समूह चरणमा अपराजित रहन सफल भयो ।

लगातार तीन खेल जितेको पुलिस समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्दा यसै समूहबाट मणिमुकुन्द भलिबल क्लब उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यस्तै लगातार तेश्रो खेलमा पराजित एपीएफ र रुकुम पश्चिम भने प्रतियोगिताको समूह चरणबाट नै बाहिरीएका छन् ।

अब प्रतिगोगिताको सेमिफाइनल खेलहरु भोलि मंगलबार हुनेछन् । मंगलबार मध्यान्ह १२ बजे शुरु हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को उप-विजेता गुजरातबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी दिउँसो २ बजे शुरु हुने दोश्रो सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेता आर्मी र समूह ‘ए’ को उप-विजेता मणिमुकुन्द भिड्ने छन् । सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *