स्पेनिस ला लिगामा बार्सिलोनाले गोलको बर्षा गरेको छ । आइतबार राति खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ७-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन फिर्मिन लोपेजले २ तथा फ्रान्की डी डी जोङ, फेरान टोरेस, राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले समान १ गोल गर्दा १ गोल आत्मघाती उपहारस्वरुप प्राप्त गर्यो ।
भ्यालेन्सियाका लागि ह्युगो डुरोले सान्त्वना गोल गरे ।
खेलको तेस्रो मिनेटमै डी जोङको गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा टोरेसले टोलीको अग्रता दोब्बर बनाए । राफिन्हाले १४औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
लोपेजले २४औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ५-० को अग्रता दिलाए । भ्यालेन्सियाका लागि डुरोले ५९औं मिनेटमा सान्त्वना गोल फर्काए ।
सात मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोना ६-१ ले अगाडि बढ्यो । सेजर तारेगाबाट ७५औं मिनेटमा आत्मघाती गोल हुन पुग्दा बार्सिलोनाले ७-१ को सानदार जित दर्ता गर्यो ।
यस जितसँगै बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछि छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा सात अंकले पछि छ ।
बार्सिलोना २१ खेलबाट ४२ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल खेलेको शीर्ष स्थानको रियलको ४९ र दोस्रो स्थानको एट्लेटिकोको ४५ अंंक छ । पराजित भ्यालेन्सिया समान खेलबाट १६ अंकका साथ १९औं स्थानमा छ ।
