नेपाल पुलिस क्लबलाई ६-० ले पराजित गर्दै एपिएफ क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको विभागीय डर्बीमा एपिएफलाई फराकिलो जित दिलाउन अनिता बस्नेतले ह्याट्रिक पूरा गरिन् । त्यस्तै सरु लिम्बुले दुई गोल गर्दा रेनुका नगरकोटीले एक गोल गरिन् ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको एपिएफले दोस्रो हाफमा चार गोल थप्यो ।
खेलको ११औं मिनेटमा अनिताको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ३७औं मिनेटमा रेनुकाले टोलीको अग्रता दोब्बर बनाइन् ।
खेलको अन्त्यतिर एपिएफ आक्रमक बनेको थियो । खेलको ८६ र ८७औं मिनेटमा सरुले गोल गर्दा एपिएफको अग्रता ४-० को बन्यो । इन्जुरी समयमा दुई गोल गर्दै अनिताले ह्याट्रिक पूरा गरेपछि एपिएफले ६-० को सानदार जित निकाल्यो ।

खेलको प्लेयर अफ दि म्याच सरु लिम्बु चुनिइन् ।
लगातार तेस्रो जित निकालेको एपिएफले तीन खेलबाट ९ अंक जोडेको छ । पहिलो पराजय बेहोरेको पुलिसको चार खेलबाट सात अंक छ ।
