ललितपुर । एन्फा यु-१६ युथ लिगमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले बराबरी खेलका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडेका हुन् । बराबरीपछि दुवैले समान १ अंक जोडेका छन् ।

सोमबार भएको दोस्रो खेलमा संकटा फुटबल क्लबले एफसी खुमलटारलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
संकटालाई जित दिलाउन कप्तान पेम्बा तामाङले राईले ह्याट्रिक पूरा गर्दा एलसन राईले एक गोल थपे । खुमलटारका सूर्य थापामगरले गरेको गोल भने सान्त्वना बन्यो ।
खेलको आठौं मिनेटमा एल्सनले गोल गोर्दै संकटालाई अग्रता दिलाए भने ३६औं मिनेटमा पेम्बाले टोलीको अग्रता दोब्बर पारे ।
पेम्बाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए । त्यस्को दुई मिनेटपछि नै सूर्यले खुमलटारका लागि गोल फर्काए । पेम्बाले ७०औं मिनेटमा ह्याट्रिक पूरा गर्दै संकटालाई ४-१ को सहज जित दिलाए ।
जारी लिगमा संकटाको यो पहिलो जित हो । पहिलो खेलमा संकटा चर्च ब्वाइज युनाइटेडसँग २-१ ले पराजित भएको थियो । जितसँगै संकटाले पहिलो तीन अंक जोडेको छ भने खुमलटारले हारबाट प्रतियोगिता सुरु गरेको छ ।
