एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले वालिङ नगरपालिकालाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएकोखेलमा आर्मीले पहिलो हाफमा ७ गोल गर्दा दोस्रो हाफमा २ गोल गरेको थियो ।

एपीएफको जितमा रश्मीकुमारी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् । त्यसैगरी गिता राना र सरु लिम्बुले समान २–२ गोल गर्दा अनिता केसीको एक गोल गरिन् ।
खेलको तेस्रो मिनेटमै रश्मिले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटमै गीता रानाले दोस्रो गोल गरिन् । वालिङ सम्हालिन नपाउँदै रश्मिले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन् ।
१६औं मिनेटमा वालिङकी डिफेन्डर पुष्पाकुमारी खड्का आफ्नै पोस्टमा गोल गरेसँगै एपिएफले ४–० को अग्रता लिएको थियो । त्यसको एक मिनेटमै रश्मिले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरिन् । रश्मिको यो लगातार दोस्रो ह्याट्रिक हो ।
३१औं मिनेट सरु लिम्बू र ४२औं मिनेटमा गीताले गोल गरेपछि एपिएफले पहिलो हाफमै ७–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने वालिङले डिफेन्समा सुधारिएको प्रदर्शन गर्दा एपिएफले दुई गोलभन्दा बढी निकाल्न सकेन । ७७औं मिनेटमा रश्मि र इन्जुरी समयमा अनिता केसीले गोल गर्दै एपिएफलाई सानदार जित दिलाए ।

एपिएफकी रश्मी कुमारी घिसिङ प्लेअर अफ दी म्याच चुनिईन् ।
वालिङको लिगमा यो लगातार दोस्रो हार हो । वालिङ पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । एपिएफको भने यो लगातार दोस्रो जित हो । एपिएफले पहिलो खेलमा बागमती युथ क्लबलाई पराजित गरेको थियो ।
