नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि शुरु भएको जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको पहिलो दिनको खेल सकिएको छ । वीरगञ्जनमा जारी प्रतियोगिताको पहिलो दिन दुबै टोलीको गरेर कुल १७ विकेट खसेको छ ।
वीरगन्जमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो इनिङ्समा ३४.४ ओभरमा १० विकेट गुमाएर १२१ रनको सामान्य योगफल तयार गरेको थियो ।
आर्मीका लागि कुशल मल्लले सर्वाधिका २५ रन बनाउँदा भिम सार्किले २२, विनोद भण्डारीले २१, पवन सार्कीले १५, बसिर अहमदले १२ र शाहब आलमले ११ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
आर्मीलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले घातक बलिङ गरे । राजवंशीले १४.४ ओभर बलिङ गर्दै ४७ रन दिएर ७ विकेट लिए । राजवंशीले ४ मेडन ओभर समेत फाले । त्यस्तै अन्य तीन विकेट कुशल भूर्तेल, श्रवण यादव र राशिद खानले लिए ।
त्यस्तै आजै आफ्नो पहिलो इनिङ शुरु गरेको पुलिसले पहिलो दिनको समाप्तिमा २४ ओभर खेलेर ७ विकेटको क्षतिमा १०३ रन बनाएको छ ।
पुलिसले आफ्ना दुवै ओपनर कुशल भूर्तेल र अर्जुन साउदलाई सून्यमा गुमाएको छ । त्यसपछि दवावमा परेको पुलिसलाई गुलशन झाले उत्कृष्ट पारी खेल्दै सम्हाले । गुलशनले ३६ बलमा ३४ रन बनाउदै अविजित रहेका छन् । त्यस्तै पुलिसको तर्फबाट अमित श्रेष्ठले १८, दिलिप नाथले १०, राशिद खानले १६, शेखर रानाले १३ रनको योगदान दिएका थिए । आरिफ शेख भने ४ रन मात्र बनाउन सफल भए ।
आर्मीको तर्फबाट उत्कृष्ट बलिङ गर्दै शहाब आलमले ५ विकेट लिए । आलमले ११.१ ओभर बलिङ गर्दै ५५ रन खर्चेर ५ विकेट लिएका हुन् । यसैगरि सोमपाल कामी र पवन कार्कीले १-१ विकेट लिए ।
पहिलो दिनको खेल सकिदा आर्मीले १८ रनले अग्रता लिएको छ भने पुलिस क्लबले ७ किकेट गुमाएर १०३ रन बनाएको अवस्था छ ।
सोमबार दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।
