जय ट्रफी एलिट कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेश पहिलो दिनमा १२१ रनले पछाडि परेको छ ।

पहिलो इनिङमा १०२ रनमै समेटिएपछि मधेशले फलो अनको सामना गरेको थियो । फलो अनमा परेको मधेश दोस्रो इनिङमा कुनै पनि विकेट नगुमाइ दुई रन बनाएर खेलिरहेको छ । अहिले हिमान्शु दत्त र मायन यादव क्रिजमा छन् ।

मधेशले यही स्थितीबाट आइतबार दोस्रो दिनको सुरुआत गर्नेछ ।

पहिलो इनिङ्समा मधेसका लागि हरिशङ्कर साहले ३१ रन बनाए । अभिषेक तिवारीले १३ र मयन यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

आर्मीका लागि भने साहब आलमले ६ विकेट लिए । उनले ९ ओभरमा ३२ रन खर्चेर आफ्नो फाइफर पूरा गरेका थिए । सो क्रममा उनले ५ मेडन ओभर फाले ।

आलमले १४.६ ओभरमा निरज यादवलाई, १८.२ मा हरिशंकरलाई, २२.२ मा विशाल पटेललाई आउट गरे । उनले एकै ओभरमा लगातार २ विकेट पनि लिए । उनले २६.२ ओभरमा अभिषेक तिवारी र २६.३ ओभरमा रुपेश सिंहलाई आउट गरे ।

यस्तै, सोमपाल कामी, आकाश चन्द, र बसिर अहमदले १-१ विकेट लिए ।

त्यसअघि वीरगन्जस्थित नारायण क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २२५-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

आर्मीका लागि बसिर अहमदले ९८ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी भीम सार्कीले ९३ बलमा ६ चौकाको मद्दतले ५२ र इम्रान शेखले ४२ रन जोडे ।

मधेशका लागि रञ्जित कुमारले पाँच, प्रदीप पासवानले दुई तथा अभिषेक तिवारी र हरिशंकर साहले समान एक विकेट लिए ।

पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी ३० अंकका साथ दोस्रो स्थानमा छ । एक खेलमा हार तथा एकमा बराबरी खेलेको मधेश २१ अंकका साथ तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *