विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले जनवरी २८ देखि ३० सम्म सिक्किमको गान्तोकमा हुने प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिप २०२५ मा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकको बिदाई गरेको छ ।

आज विराटनगर स्थित बोर्डको कार्यालयमा च्याम्पियनशिपमा सहभागी हुने न्यू सेप कराँते एकेडमीका ८२ खेलाडी तथा ६ खेलाडी मध्य २० जना खेलाडी तथा प्रशिक्षक तथा व्यवस्थापकको बिदाई गरेको हो ।

खेलाडी तथा प्रशिक्षकलाई बिदाई गर्दै बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताले खेलाडीमा आत्मविश्वास बढाउने हुँदा सहभागिता महत्वपूर्ण हुने बताए ।

बस्नेतले बोर्डको तर्फ बिदाई गर्दै अघिल्लो आर्थिक वर्ष कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको बताउँदै बोर्डले खेलाडीहरुको क्षमता वृद्धि तथा प्रोत्साहन गर्न कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गरे ।

टोलीका प्रशिक्षक प्रभाकर रानाले प्रतियोगिताको सहभागी हुने खेलाडीमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाका खेलाडीहरुको सहभागिता रहेको बताए । टोलीका खेलाडीहरुले विभिन्न उमेर समूहका स्पर्धाहरुमा प्रतिष्पर्धा गर्ने रानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *