किलिएन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राती भएको खेलमा १० खेलाडीमा सीमित लास पल्मसलाई ४-१ गोलअन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे । पाहुना टोलीका लागि फाबियो सिल्भाले सान्त्वना गोल फर्काए ।
खेलमा सुरुवाती अग्रता भने लास पाल्मसले लिएको थियो । खेलको पहिलो मिनेटमै सिल्भाले गोल गर्दै लास पाल्मसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको १८औँ मिनेटमा रियल मड्रिडले पेनाल्टी पायो र त्यसमा एम्बाप्पेले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । खेलको ३३ औँ मिनेटमा डियाजले गोल गर्दै रियललाई २-१ गोलअन्तरको अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि खेलको ३६औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा रियलका लागि तेस्रो गोल गरे ।
त्यसपछि खेलको ५७औँ मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ४-१ ले अघि बढ्यो । बाँकी समयमा गोल हुन नसकेपछि खेल रियल मड्रिडले ४-१ गोलअन्तरले जितेको हो ।
जितपछि २० खेलबाट ४६ अंक जोड्दै रियल शीर्ष स्थानमा उक्लिएको छ । समान खेलमा ४४ अंक जोडेको एट्लेटिको दोस्रो स्थानमा छ । समान खेलमा ३९ अंकका साथ बार्सीलोना तेस्रो स्थानमा छ ।
पराजित लास पाल्मस भने २० खेलबाट २२ अंकका साथ तालिकाको १४औँ स्थानमा छ ।
