ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा मछिन्द्रले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । मछिन्द्रको जितमा हिमाल थिङ र सौगातकुमार बोम्जोनले समान एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल मच्छिन्द्रले दोस्रो हाफको अन्त्यतिर गरेको थियो । खेलको ८२औं मिनेटमा हिमालको गोलमार्फत मछिन्द्रले सुरुआती अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै सौगातले अर्को गोल गर्दै टोलीको जित पक्का गरेका थिए ।

लगातार दोस्रो जितसँगै दुई खेलमा छ अंक जोडेको मछिन्द्र शीर्षस्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित खुमलटार अंकविहिन छ ।
यसअघि पहिलो खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ५-० ले पराजित गरेको थियो । यता खुमलटार यसअघि संकटा क्लबसँग ४-१ ले पराजित भएको थियो ।
