ललितपुर । जारी एन्फा यु-१६ युथ लिगमा शुक्रबार सशस्त्र प्रहरीको एपीएफ क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् ।

सातदोबाटोस्थित सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले चर्च ब्वाईज युनाइटेडलाई ३-२ र थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

एपिएफका लागि तेन्जिङ शेर्पा र अबिन बस्यालले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । चर्च ब्वाइजका लागि सनिल मगर र सुशान थापामगरले गोल गरे ।

खेलमा अग्रता भने २४औं मिनेटमा सनिलको गोलबाट चर्च ब्वाइजले लिएको थियो । पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा लय गुमाउँदा चर्च ब्वाईज हार भोग्न बाध्य भयो ।

५१औं मिनेटमा तेन्जिङले एपिएफका लागि बराबरी गोल फर्काए । सुशानले ६४औं मिनेटमा गोल गर्दा चर्च ब्वाइज २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि अबिनले एपिएफका लागि बराबरी गोल फर्काए । उनले दोस्रो प्रयासमा गोल गरेका हुन् ।

पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका पास्कल बस्नेतले रोके पनि रिबाउन्डलाई अबिनले पोस्टको दिशा दिए । ८३औं मिनेटमा आदित्य रानामगरबाट आत्मघाती गोल हुन पुग्दा एपिएफले ३-२ को जित दर्ता गर्यो । 

लगातार दोस्रो जित निकालेको एपिएफको तीन खेलबाट सात अंक छ । चर्च ब्वाइजको समान खेलमा ६ अंक छ । जारी लिगमा चर्च ब्वाइजको यो पहिलो हार हो ।

एन्फा कम्प्लेक्समै भएको अर्को खेलमा भने थ्रीस्टारले हिमालयन शेर्पालाई २-१ गोलले पराजित गर्यो ।

थ्री स्टारलाई जित दिलाउन राज बम र भुपेन्द्रबहादुर राउतले गोल गरे । हिमालयन शेर्पाका लागि अमीर तामाङले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ४७औं मिनेटमा अमिरले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर ६१औं मिनेटमा राजले थ्री स्टारका लागि बराबरी गोल फर्काए ।

६८औं मिनेटमा भुपेन्द्रले गोल गरेपछि थ्रीस्टार खेलमा अग्रता बनाउन सफल भयो । सो पछि गोल हुन सकेन र थ्रीस्टारले साँधुरो जित निकाल्यो ।

जितसँगै थ्री स्टारले तीन खेलबाट सात अंक जोडेको छ । पराजित हिमालयन शेर्पाको  समान खेलबाट एक अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *