जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड घरेलु मैदानमै पराजित भएको छ । शुक्रबार राति घरेलु मैदानमै डर्टमण्ड लेभरकुसेनसँग ३-२ ले पराजित भयो ।
यो जितसँगै लेभरकुसेनले उपाधि होड कायमै राखेको छ भने डर्टमण्डको समस्या थप बढेको छ । लेभरकुसेनलाई जित दिलाउन प्याट्रिक सेकले दुई गोल गर्दा नाथान टेल्लाले एक गोल गरे । डर्टमण्डका लागि जेमी गिट्टन्स र सेरहौ गुइरास्सेले एक गोल गरे ।
खेल सुरु भएको पहिलो मिनेटमै रोर्बट एन्डरिचको पासमा टेल्लाले गोल गर्दै लेभरकुसनलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि आठौं मिनेटमा पिरो हिनकोइको पासमा सेकले गोल गर्दा लेभरकुसन २–० ले अघि बढ्यो ।
त्यसको चार मिनेटपछि नै गिट्टन्सले डर्टमण्डका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो । खेलको १९औं मिनेटमा जेरेमी फ्रिमपोङको पासमा सेकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा लेभरकुसेन ३–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ७९औं मिनेटमा गुइरास्सेले पेनाल्टीमा गोल फर्काए पनि डर्टमण्डको हार भने टरेन ।
जितसंगै लेभरकुसेनले १६ खेलबाट ३५ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ । एक खेल बढी खेलेको लिग लिडर बार्यन म्युनिख ३६ अंकका साथ शीर्ष स्थानमा छ । पराजित डर्टमण्डको भने समान १६ खेलमा २५ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।
