ललितपुर । जारी एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकामाथि फराकिलो जित हात पारेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई १२-० ले पराजित गरेको हो ।

आर्मीको जितमा विमला चौधरीले चार, चन्द्रा भण्डारीले तीन, सपना लामा र अञ्जना थुलुङ राईले समान दुई तथा विमला विकले एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको आर्मीले दोस्रो हाफमा आठ गोल थपेको थियो ।

विमला चौधरीले खेलको ३४औं, ४८औं र ६०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले ८१औं मिनेटमा पेनाल्टीमार्फत थप एक गोल गरिन् । त्यसैगरी चन्द्रा भण्डारीले पनि खेलको २३औं, ३१औं र ६९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

सपना लामाले २५औं र ७५औं मिनेटमा तथा अञ्जना थुलुङ राईले ५६औं र ७०औं मिनेटमा गोल गरे । यस्तै विमला विकले इन्जुरी समयमा आर्मीका लागि १२औं गोल गरिन् ।

खेलको प्लेअर अफ दी म्याच चार गोलकर्ता विमला चौधरी चुनिईन् । उनले नगद ५ हजार पुरस्कार सहित ट्रफी प्राप्त गरिन् ।

यो लिगको दोस्रो चरणमा सबैभन्दा फराकिलो अन्तरको जित हो । यसअघि एपिएफले वालिङविरुद्ध नै ९-० को जित निकालेको थियो ।

जितसँगै आर्मीले तीन खेलमा सात अंक जोडेको छ । लगातार तेस्रो हार बेहोरेको वालिङ अंकविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *