सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो राजारानी भेट्रान क्लब धनकुटा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्बेली भेट्रान क्लब बिर्तामोडलाई २-० गोलले हराउँदै धनकुटा उपाधि नजिक पुगेको हो ।

इटहरी-५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा धनकुटालाई जित दिलाउन मित्र बस्नेत र सुजित राईले गोल गरे ।
खेलको पहिलो हाफमा गरेको दुई गोल नै धनकुटाका लागि पर्याप्त भयो । खेलको २२औं मिनेटमा मित्रको गोलमा धनकुटाले सुरुवाती अग्रता लिएको थियो । खेलको ३४औं मिनेटमा सुजितले एक गोल थप्दै धनकुटाको जित निश्चित पारे ।
खेलको म्यान अफ दि म्याच धनकुटाका मित्र बस्नेत घोषित भए । उनले नगद २,१०० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिबार दोस्रो सेमिफाइनल खेल आयोजक हाम्रो इटहरी भेट्रान क्लब सुनसरी र टिडब्लुवाइसी भेट्रान क्लब बिराटनगरबीच हुनेछ ।
हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार तथा उपविजेताले ६१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुनेछ ।
