सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता सम्बन्धि जानकारी दिने उद्देश्यले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीले उक्त जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ । उद्घाटन खेल चर्च ब्वाइज र संकटा क्लबबीच हुनेछ ।

बुधबार आयोजित पत्रकार सम्मलेनमा सहभागि टोलीका टीम अफिसिल तथा खेलाडीले प्रतियोगितामा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने दाबी गरे । त्यस्तै लामो समयपछि दशरथ रङ्ग‌शालामा फुटबल फर्किएकोमा खुशी प्रकट गरेका थिए ।

पत्रकार सम्मेलनमा उपस्थित अफिसियल र खेलाडीले भने, ‘आखिर जसको नाममा फुटबल खेलको आयोजना भएपनि त्यो फुटबल र खेलाडीको लागि सकारात्मक पक्ष हो, खेलाडीले फुटबल खेल्न पाएका छन्, त्यो ठूलो उपलब्धि हो । त्यसको लागि राजनीतिक दल धन्यवादको पात्र समेत बनेका छन् ।’

सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो ३ बजे हुने छ । त्यस्तै प्रत्येक दिन एक एक खेल आयोजना हुनेछ । प्रतियोगिता नकआउटको आधारमा खेलाइने छ । १४ र १५ गते सेमिफाइनलका खेल हुने छन् । १६ गते एक दिन विश्राम राखिएको छ भने सोहि दिन उपाधि विजेताले पाउने ट्रफी सार्वजनिक गरिने छ । प्रतियोगिताको फाइनल खेल १७ गते बिहिबार हुनेछ ।

प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फिको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दि म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ । सभापति कप हरेक २-२ वर्षमा आयोजना हुने आयोजक समितिले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *