बुटवल । विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डमप इन्डो-नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बुटवलको रामनगर खेल मैदानमा सम्पन्न दोश्रो सेमिफाइनल खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले फाइनलको यात्रा तय गरेको हो ।

मंगलबारका लागि तय खेल प्रतिकुल मौसम र शीतलहरका कारण बुधबार सारिएको थियो । मणिमुकुन्दविरुद्ध क्रमशः २५-१८, २५-१३ र २५-१९ को सहज जित निकाल्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीले समूह ‘बी’ को विजेता तथा मणिमुकुन्दले समूह ‘ए’ को उप-विजेताका रुपमा दोश्रो सेमिफाइनल खेलेका हुन् ।

अब आर्मीले उपाधिका लागि अर्का विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा गुजरात स्टेट भलिबल एसोसियसनलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

आर्मी र पुलिसबीचको फाइनल खेल भोलि (बिहीबार) हुनेछ । यस्तै सेमिफाइनलमा पराजित मणिमुकुन्द र गुजरातले आजनै तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ७ लाख, उप-विजेताले ३ लाख ५० हजार, तेश्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख पुरस्कार प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *