काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिँदै सम्मान गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनमार्फत नेपाली क्रिकेटको स्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उक्त टिमका कप्तान र खेलाडीका साथै नेपाल क्रिकेट संघ (क्यान) तथा व्यवस्थापकहरूलाई बधाई दिएका छन् ।

शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै एनपीएलको पहिलो संस्करणको उपाधि जितेको थियो ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठुला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गरे ।

‘यो हामी सबै नेपालीको जित हो । खेलमा तपाईंहरूको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम पनि बलियो प्रतिद्वन्द्वी थियो । कठोर चुनौती पार गर्दै विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरू सच्चा बधाईका पात्र हुनुहुन्छ,’ प्रधानमन्त्री ओलीले भने । ‘तपाईंहरू हाम्रो हिरो हुनुहुन्छ । म तपाईंहरूको प्रशंसा गर्दछु । खेलकुदको विकासले राष्ट्रको विकासलाई समेत मापन गर्छ । आगामी दिनमा अझ ठूलो सफलताका लागि शुभकामना व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले नेपाली खेलकुदको प्रगतिको लागि सरकार र आफ्नो तर्फबाट निरन्तर प्रयास जारी रहने प्रतिबद्धता जनाए । प्रधानमन्त्री बनेपछि कीर्तिपुर क्रिकेट मैदानको स्तरउन्नतिको पहिलो निर्णय लिएको स्मरण गर्दै उनले मैदान निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी गराए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा सरकारलाई धन्यवाद दिंदै विदेशी खेलाडीहरूको श्रम स्वीकृतिमा रहेको झन्झटिलो प्रक्रियालाई अन्त्य गर्न आग्रह गरे । यस सन्दर्भमा प्रधानमन्त्री ओलीले उक्त समस्यालाई सम्बोधन गरी आवश्यक सहजीकरण गरिने आश्वासन दिए ।

जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले प्रधानमन्त्रीबाट बधाई र सम्मान पाउँदा आफूहरूलाई खुशी लागेको प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *