आर्सनलका युवा स्टार बुकायो साकालाई गम्भीर घुँडाको चोटका कारण दुई महिनाभन्दा बढी समय मैदानबाहिर बस्नुपर्ने भएको छ ।
साकाले क्रिस्टल प्यालेसविरुद्धको खेलमा ५-१ को जितका क्रममा गम्भीर घाइते भएपछि सर्जरी गरेका थिए ।
सफल अपरेसनपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले साकाको चोटलाई लिएर चिन्ता व्यक्त गर्दै भने, “उनी धेरै हप्तासम्म खेल्न सक्नेछैनन् । मलाई लाग्छ, दुई महिनाभन्दा बढी समय लाग्न सक्छ। चोट कसरी निको हुन्छ भन्ने कुरामा सबै निर्भर हुन्छ ।”
तर, आर्सनलका लागि केही सकारात्मक खबर पनि आएको छ । घुँडाको चोटका कारण मैदान बाहिर रहेका रहिम स्टर्लिङको चोट अपेक्षा गरेभन्दा कम गम्भीर भएको आर्टेटाले बताएका छन् । स्टर्लिङ साकाको स्थानमा खेल्न सक्ने मुख्य विकल्प हुन् र उनको फिटनेस कायम रहे, आगामी खेलहरूमा नियमित रूपमा खेल्ने सम्भावना छ ।
“हामीले सोचेभन्दा छिटो स्टर्लिङको चोट निको हुँदैछ। यो राम्रो कुरा हो किनभने हामीलाई उनको आवश्यकता छ,” आर्टेटाले भने ।
साकाको अनुपस्थितिमा आर्सनलले आइपर्ने चुनौतीलाई सामूहिक रूपमा सामना गर्ने योजनामा छ । शुक्रबार इप्सविच टाउनविरुद्धको १-० को जितमा गाब्रिएल मार्टिनलीले साकाको स्थानमा दायाँ विंगमा खेलेका थिए । उनलाई फुलब्याक जुरियन टिम्बरले समर्थन गरेका थिए, जसले प्रभावशाली प्रदर्शन गरे ।
आर्टेटाले भने, “हामी कुनै एक खेलाडीमा भर पर्दैनौं । टोली नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो । हामीले सधैं सामूहिक रूपमा प्रतिस्पर्धात्मक बन्ने प्रयास गरेका छौं र यस पटक पनि त्यस्तै गर्नेछौं ।”
साकाको चोटको असर कम गर्न आर्सनलले जनवरी ट्रान्सफर विन्डोमा नयाँ फरवार्ड भित्र्याउने सम्भावना रहेको छ । तर, हालका लागि प्रशिक्षक आर्टेटा टोलीको सामूहिक प्रयासमै भर पर्ने मनसायमा छन् ।
