पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले बालोन डी’ओर अवार्डमा विभेद गरिएको बताएका छन् ।
दुबईमा ग्लोब सकर अवार्ड-२०२४ को समारोहमा पोर्चुगलका कप्तान रोनाल्डोले बालोन डी’ओर अवार्डको वास्तविक हकदार रियल मड्रिडका भिनिसियस जुनियर रहेको बताएका हुन् । ‘मेरो विचारमा उनी (भिनिसियस) गोल्डेन बल (बालोन डी’ ओर अवार्ड) जित्न योग्य थिए । तर, उनलाई नदिएर रोड्रीलाई दिइयो,’ उनले भने ।

रोनाल्डोले बालोन डी’ओर नदिएर भिनिसियसलाई अन्याय गरिएको पनि बताए । ‘यो अन्याय थियो,’ रोनाल्डोले भने, ‘भिनिसियसबाट बालोन डी’ओर लुटियो ।’ रोड्री पनि बालोन डी’ ओर अवार्डका लागि योग्य भए पनि भिनिसियसलाई नै उक्त अवार्ड दिनुपर्नेमा त्यसो हुन नसकेको रोनाल्डोको भनाइ छ ।
‘मेरो विचारमा यो अनुचित थियो । म यहाँ सबैका सामु भन्छु-उनीहरूले बालोन डी’ ओर अवार्ड रोड्रीलाई दिए, उनी पनि यसको योग्य थिए । तर, अवार्ड उनीहरूले भिनिसियसलाई दिनुपर्ने थियो किनभने उनले च्याम्पियन्स लिग जितेका थिए र फाइनलमा गोल गरेका थिए,’ उनले भने ।
रोनाल्डोले योग्य खेलाडीलाई मात्रै बालोन डी’ओर दिनुपर्ने बताए । ‘जब तपाईं योग्य हुनुहुन्छ, तपाईंले योग्यलाई नै दिनुपर्छ,’ उनले भने । रोनाल्डोले ग्लोब सकर अवार्डका आयोजकहरू इमानदार भएको भन्दै प्रसंशा पनि गरे । ‘तपाईं ले यो अवार्ड पनि हेरिरहनु भएको छ । यिनीहरूले पनि बालोन डी’ओर अवार्डको जस्तै काम गरिरहेका छन्, यिनीहरू इमानदार छन् । यही कारणले मलाई ग्लोब फुटबल अवार्ड मन पर्छ, आयोजकहरू इमानदार छन्,’ उनले भने ।
भिनिसियसले बालोन डी’ओर अवार्ड नपाउने भएपछि रियल म्याड्रिडले फ्रान्सको पेरिसमा भउको बालोन डी’ओर अवार्ड समारोह नै बहिष्कार गरेको थियो । सुरुमा भिनिसियसले अवार्ड जित्न बताइए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्रीले उक्त अवार्ड जित्ने भएपछि रियल म्याड्रिडले कार्यक्रम नै बहिष्कार गरेको थियो ।
शुक्रबार राति दुबईमा आयोजित ग्लोब सकर अवार्ड-२०२४ मा रोनाल्डो र भिनिसियसले समान २-२ अवार्ड जितेका थिए । साउदी क्लब अल-नासरको कप्तानसमेत रहेका रोनाल्डोले उत्कृष्ट मध्यपूर्व खेलाडी र सर्वाधिक गोलकर्ताको अवार्ड जित्दा रियल मड्रिडका स्टार खेलाडी भिनिसियसले उत्कृष्ट खेलाडी र उत्कृष्ट फरवार्डको अवार्ड जितेका थिए ।
