स्पेनिस क्लब बार्सिलोनाले आफ्ना नयाँ खेलाडी ड्यानी ओल्मोलाई डिसेम्बरपछि ला लिगामा दर्ता गर्न समस्या झेल्नु परेको छ ।

गत समर विन्डोमा अनुबन्ध भएका स्पेनिस मिडफिल्डरलाई त्यो बेला बार्सलोनाले आधा सिजनका लागि मात्रै ला लिगामा दर्ता गरेको थियो । आर्थिक दायराका कारण उनलाई पूरा सिजन वा धेरै वर्षका लागि दार्ता गर्न नसकेको बार्सिलोनाले अब नयाँ वर्ष २०२५ लाग्नुअघि नै ओल्मोलाई दर्ता गर्न नसके उनी स्वतः फ्री एजेन्ट बन्नेछन् । र, उनले स्वतन्त्र रूपमा क्लब छाड्न पाउनेछन् ।

ओल्मोले बार्सिलोना छाड्न सक्ने चर्चा सुरु भएसँगै उनको नाम प्रिमियर लिगका दुई शीर्ष क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग जोडिन थालिसकेको छ ।

स्पेनिस सञ्चारमाध्यमका रिपोर्ट अनुसार बार्सिलोना अहिले आफ्नै देशका खेलाडीको दर्ताका लागि आर्थिक स्रोत जुटाउन लागिपरेको छ । सिजनको दोस्रो हाफका लागि ड्यानी ओल्मो र पाउ भिक्टोरलाई दर्ता गर्नका लागि बार्सिलोनाले अझै धेरै सम्पत्ति बिक्री गनुपर्ने बाध्यता देखिन्छ ।

बिहीबार मात्रै बार्सिलोनास्थित अदालतको निर्णयले दुई खेलाडीलाई सिजनको दोस्रो हाफमा खेल्न अनुमति दिने प्रस्ताव अस्वीकार गरेपछि बार्सिलोनाको तनाव बढेको हो । बार्सिलोनाले ओल्मो र भिक्टोरलाई अगस्टमा दिएको चोटका लागि भत्ताभन्दा बाहिर दर्ता गर्न अनुमति दिन ला लिगाविरुद्ध नयाँ प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

यदि बार्सिलोनाले डिसेम्बर अन्त्यसम्म आम्दानीको स्रोत बढाउन नसके वा ऋणको जोहो गर्न नसके ओल्मोलाई सित्तैमा छाड्न अनुमति दिने सम्झौता ला लिगासँग गरेको छ । यो सम्झौता अनुसार यदि बार्सिलोनाले ओल्मोलाई दर्ता गर्न सकेन भने उनी स्वतः खुला हुनेछन् ।

बार्सिलोनाले ओल्मोलाई जर्मन क्लब आरबी लेइपजिगबाट ५७ मिलियन युरोमा अनुबन्ध गरेको थियो । उनी बार्सिलोनाका लागि महत्त्वकांक्षी खेलाडी थिए । बार्सिलोनाको टिममा पहिलो रोजाइका खेलाडी उनले हालसम्म १५ खेलबाट ६ गोल गरेका छन् । उनी बार्सिलोना पुगेपछि पटक-पटक चोटिल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *