इलाम | झापाको रेड स्टार फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन न्यू रोड टिम (एनआरटि) इलाममा जारी दोस्रो एनआरएनए इलाम गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

एनआरटिको शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाण्डौंंसँग भेट पक्का भएको छ ।

बिहिवार इलाम इलाम सदरमुकाममा रहेको ठूलो टुंडिखेलमा भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटिले अग्रता लिएको थियो । एनआरटिका कप्तान अञ्जन बिष्टले ४५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा रेड स्टार खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा रेड स्टारका इमान्युएल बोटेजको गोलसँँगै खेल १-१ को बराबरीको स्थितिमा पुग्यो ।

त्यस्तै, ६१ औं मिनेटमा बिबेक गुरूङले गोल गरेसँँगै अग्रता लिएको एनआरटि फाइनलमा पुग्न सफल भएको हो ।

खेलको म्यान अफ दि म्याच एनआरटिका कप्तान अञ्जन बिष्ट चुनिए । उनले नगद आठ हजार एक सय सहित ट्रफि प्राप्त गरे ।

शनिबार हुने फाइनल खेलमा एनआरटिले चर्च ब्वाइज युनाइटेडसँँग उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *