अल हिलालले एएफसी च्याम्पियन्स लिगको छैटौं चरणको खेलमा घराफामाथि सहज जित निकालेको छ ।
मंगलवार राति भएको खेलमा साउदी क्लब अल हिलालले कतारी क्लब घराफामाथि ३-० को सहज जित हासिल गरेको हो ।
साउदी क्लबको घरेलु मैदान किंगदम एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मार्कोस लियोनार्डो, एलेक्जान्डर मिट्रोभिक र सर्जे मिलिनकोभिक साभिकले गोल गरे।
खेल सुरु भएको १८ औं मिनेटमा यासेर अल शाहरानीको पासमा लियोनार्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको ८२ औं मिनेटमा सलिम अल डौसारीको पासमा मिट्रोभिकले गोल थप्दा साउदी क्लब २-० ले अघि बढ्यो ।
यता, ८५ औं मिनेटमा माल्कोमको पासमा साभिकले गोल गर्दा अल हिलाल ३-० ले विजयी भयो ।
सहज जितसंगै अल हिलालले ६ खेलबाट १६ अंक जोड्दै च्याम्पियन्स लिगको तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अल हिलाल यसअघि नै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरिसकेको छ । पराजित कतारी क्लबको भने समान ६ खेलमा ४ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।
