मलेसियामा सम्पन्न एसिसी यु १९ महिला एसिया कपको उपाधि भारतले जितेको छ ।
आइतवार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै एसिसी यु १९ महिला एसिया कपको उपाधि चुमेको हो ।
भारलले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेशले १८.३ ओभरमा अल आउट हुदै ७६ रन मात्र बनाउन सक्यो ।
त्यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रनको योगफल तयार गरेको थियो ।
एसीसी यू-१९ महिला एसिया कप पहिलो पटक आयोजना गरिएक हो । पहिलो संस्करणमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाली टोली ‘सुपर-४’ चरणबाट बाहिरिएको थियो । एकै समूहमा रहेको नेपाल र भारतबीचको खेल वर्षाका कारण हुन सकेको थिएन । बंगलादेशले भने नेपाललाई सुपर फोरमा पराजित गरेको थियो । श्रीलंका चौथो भयो । आयोजक मलेसिया र पाकिस्तान संयुक्त रुपमा पाँचौं स्थानमा रहे ।
