गल्फ टी-२० च्याम्पियनसिपको क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली युएईले जितेको छ ।

शनिबार भएको फाइनलमा कुवेतमाथि २ रनको रोमाञ्चक जित निकाल्दै युएईले उपाधि हात पारेको हो । १ सय ५४ रनको लक्ष्य पछ्याएको कुवेत १९.३ ओभरमा १ सय ५१ रनमा अल आउट भयो ।

कुवेतलाई अन्तिम पाँच बलमा च्याम्पियन बन्न तीन रन चाहिँएको अवस्थामा युएईका मोहम्मद जवादुल्लाहले लगातार दुई विकेट लिदै च्याम्पियन बनाए । कुवेतलाई अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । मोहम्मद जवादुल्लाहले पहिलो वल वाइड र त्यसपछि मिट भावसारले चौका हानेका थिए। तर दोस्रो बलमा भावसार क्याच र तेस्रो बलमा मोहम्मद शफिक बोल्ड आउट भएपछि कुवेत जित नजिक पुगेर हार्यो ।

१९ औं ओभरमा कुवेतलाई यासिन पटेल र भावसारले जुनैद सिद्दिकलाई २१ रन प्रहार गर्दै जित नजिक पुर्याएका थिए । कुवेतका मित भावसारले ५४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रन बनाए । युएईका अली नासिर, मोहम्मद जवादुल्लाह र सिमरनजीत कंगले २-२ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट रंगशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । युएईका तानिस सुरीले ३४, मोहम्मद वासिम १, आसिफ खान २३, एलिसान शराफु र राहुल चोपराले २८ रन जोडे । कुवेतका यासिन पटेल र सैद मोनिबले ३-३ विकेट लिए ।

गल्फ च्याम्पियनसिपमा युएई, कतार, ओमान, साउदी अरेविया, बहराइन र कुवेतको सहभागीता थियो । गतवर्ष पहिलो संस्करणको उपाधि ओमानले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *