दिपक बोहोरा, पाँचथर

पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ ।

आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका हुन् ।

उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्र एफसी र झापा ११ फुटबल क्लबबीच पुस ७ गते दोस्रो खेल हुनेछ ।

त्रिभुवन आर्मी एफसी र झापाको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटीले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।

पुस १५ गते हुने फाइनल खेलको विजेताले १० लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

२०६५ सालदेखि सञ्चालन भएको गोल्डकपको राशि यसपटक दोब्बर बनाइएको हो । गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो ।

छ वर्षपछि हुन लागेको गोल्डकपको १०औं संस्करणको विजेताले चार लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पाएको थियो । यो संस्करण झापा ११ एफसीले जितेको थियो । आयोजक क्लबका अध्यक्ष दिपेन्द्र थापामगरका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले थान इभी स्कुटर प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा प्लेयर अफ दि म्याच हुने खेलाडीले १० हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले १५ हजार रुपैयाँ पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार रुपैयाँ गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *