इन्टर मिलानले सिरी एमा लाजियोमाथि फराकिलो जित निकालेको छ ।
सोमवार राति भएको खेलमा साविक विजेता इन्टर मिलानले लाजियोमाथि एकपक्षिय रुपमा ६-० को फराकिलो जित निकालेको हो ।
लाजियोको घरेलु मैदान स्टाडियो ओलम्पिको रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीलाई जिताउन हाकन चालहानोग्लु, फेडेरिको डिमार्को, निकोलो बरेल्ला, ड्यानियल डुमफ्रिज, कार्लोस अगस्टो र मार्कुस थुरामले गोल गरे ।
पहिलो हाफको ४१ औं मिनेटमा चानहानोग्लुले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।त्यसपछि ४५ औं मिनेटमा डुमफ्रिजको पासमा डिमार्कोले गोल थप्दा इन्टर पहिलो हाफसम्म २- ० ले अघि बढ्यो ।
दोस्रो हाफको ५१ औं मिनेटमा चालहानोग्लुको पासमा बरेल्लाले गोल गर्दा साविक विजेता टोली ३-० ले अघि बढ्यो । त्यसको दुई मिनेटपछि नै अलेस्सान्ड्रो बास्टोनीको पासमा डुमफ्रिजले गोल गर्दा इन्टर ४-० ले अघि बढ्यो ।
त्यस्तै, खेलको ७७ औं मिनेटमा डिमार्कोको पासमा अगस्टोले गोल गर्दा भ्रमणकारी टोली ५- ० ले अघि बढ्यो । खेलको अन्त्यतिर ९० औं मिनेटमा हेनरिक मिखटेरियानको पासमा थुरामले गोल गर्दा इन्टर ६-० ले विजयी भयो ।
फराकिलो जितसंगै इन्टरले १५ खेलबाट ३४ अंक जोडेर सिरी ए तालिकामा तेस्रो स्थानमा कायम रहेको छ । पराजित लाजियोको भने १६ खेलबाट ३१ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
