आइसिसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार ब्यहोरेको छ ।
लगातार दुई खेल जितेको नेपालमाथि आयोजक युएईले १३ रनको जित निकाल्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रन र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।
युएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पुजा महतोले ४३ बलमा ५ चौकाको सहयोगमा ४८ रन बनाउदै आउट भईन् ।साना प्रविन र सोनी पाख्रिनले समान १९ तथा ज्योत्सिका मरासिनीले नट आउट ११ रन जोडिन् ।
युएईका लागि मेहक ठाकुर, लाभन्या केन्य र इदुजा नन्दकुमारीले समान १ विकेट लिए ।
त्यसअघि युएईको अजमानमा टस जितेर ब्यटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रनको योगफल तयार गरेको थियो ।
युएईका लागि रनिथा रजिथाले ३३ बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४८ रन जोड्दा ओपनर लाभन्या केन्यले ३२ बलमा २० बनाइन् । इदुजा नन्दकुमारीले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि रिया शर्माले ३ तथा सिमाना केसी, पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिए ।
यो जितसँगै ३ खेलमा अपराजित युएई ३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित नेपाल समान खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले चौथो खेलमा आइतवार थाइल्यान्डसँग खेल्नेछ ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ ।
यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता आगामी जनावरीमा मलेसियामा आयोजना हुँदैछ ।
