नेत्रहिन क्रिक्रेट संघ नेपालले टी-२० विश्वकपको लागि १५ जनालाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएको छ ।
टि-२० विश्वकपको तयारीका लागि दाङको लमहीमा रहेको देउखुरी क्रिकेट स्टेडियममा अन्तिम चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो ।
बन्द प्रशिक्षण कात्तिक २२ गतेदेखि १३ दिनसम्म सञ्चालन हुने नेत्रहीन क्रिकेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।
बन्द प्रशिक्षणमा कप्तान रमेश बहादुर बानियाँ, उपकप्तान दम बहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने छन् । यसैगरी अमिश गुरागाईं, सन्त पहरी, सुनिल रानामगर, नरेश चौधरी र पदम कार्की पनि बन्द प्रशिक्षणमा छन् ।
नेत्रहीन क्रिकेटको नेपाली राष्ट्रिय टोलीलाई नेपाल क्रिकेट संघका प्रशिक्षक एवम् दाङ क्रिकेट संघका सचिव सञ्जु क्षेत्री र सहायक प्रशिक्षक नरेन्द्र निरौलाले प्रशिक्षण दिने बन्द प्रशिक्षणका को-अर्डिनेटर प्रेम पुलामीले जानकारी दिए ।
टि-२० विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा हुँदैछ । यस प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, साउथ अफ्रिका, न्युजिल्याण्ड र अफगानिस्तान गरी ८ देश सहभागी हुनेछन् ।
