दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४-१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लबका खेलाडीहरूको वर्चस्व रहेको टिम दमक भाङबारी सेमिफाइनलमा प्रवेश गरेको हो ।

दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको पहिलो हाफको १२औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २-१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४-१ को जित दिलाए ।

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ प्राप्त गरे । मंगलबार दुधे यूथ क्लब झापा र चुलाचुली स्पोर्टिङ क्लब झापाबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *