दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप आगामी माघ ५ गतेबाट हुने भएको छ।

क्लब ओएसीसको आयोजनामा माघ १२ गतेसम्म इलामको ठूलो टुंडिखेलमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा ३ विभागीय टिमसहित ८ क्लबको सहभागिता रहनेछ । क्लबले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको छ ।

प्रतियोगितामा विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी सहित आयोजक क्लब ओएसीस, गढीमाई एफसी धनगढी, बागमती फुटबल क्लब सर्लाही, भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ र सी एफसी सहभागी हुनेछन् ।

विजेताले ४ लाख र उपविजेताले २ लाख रूपैयाँ प्राप्त गर्नेछ । आयोजकले राष्ट्रिय टिमकी कप्तान एवं गोलरक्षक अञ्चिला तुम्वापो सुब्बाको कप्तानीमा टिम उतार्ने तयारी रहेको जनाएको छ । महिला फुटबलको उचाईलाई जीवन्त राख्दै नयाँ खेलाडी उत्पादनको लक्ष्य सहित प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

क्लबका अध्यक्ष ध्रुव राईले जिल्लाको गरिमा भएकाले सबैको सहयोगको अपेक्षा रहेको बताए । उनले पुरुषको तुलनामा महिला फुटबल प्रतियोगिता अत्यन्तै कम हुने भएको कारण पनि इलाममा नेपाली राष्ट्रिय टिमका खेलाडी उतार्न लागिएको बताए । अञ्जिला खेलका लागि विदेशमा नगएको खण्डमा उनी कप्तान हुने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गराउनका लागि ५१ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान रहेको सचिव रोशन राईले जानकारी दिए । कोशी प्रदेश फुटबल संघका महासचिव पूर्ण फत्रले पछिल्लो समय महिला फुटबल आयोजना हुन थालेकाले खेलाडी उत्पादन बढेको बताए । उनले महिला फुटबलमा स्थानीय सरकारलाई लगानी गर्नुपर्छ भन्ने अनुभूत गराउनुपर्ने बताए ।

यसअघि गत संस्करणमा दीपेन्द्र शिखर फुटबल क्लबलाई हराउँदै मानेभञ्ज्याङ एफसी दार्जिलिङले उपाधि जितेको थियो । इलाममा ११ वर्षपछि विभागीय टिम सहितको महिला फुटबल हुन लागेको हो । यसअघि २०७० पुस २८ बाट माघ ७ गतेसम्म प्रथम लुम्बिनी राष्ट्रिय महिला फुटबल लीग भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *