साउदी अरबको अल-हिलालसँग साबिक विजेता युएईको अल-ऐनले एशियन च्याम्पियन्स लिग एलिटमा हार बेहोरेको छ ।
ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमबार भएको खेलमा भ्रमणकारी टोली हिलाल ५-४ ले विजयी भएको हो। अल हिलालको जितमा सलेम अल-दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका लागि भने सौफियनी रहिमीले ह्याट्रिक गर्दा माटेओ सानाब्रियाले १ गोल गरे ।
खेलको २६ औं मिनेटमा लोदीले गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए। ऐनका लागि ३९औं मिनेटमा रहिमीले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा साभिचले गोल गर्दै हिलालाई फेरी अग्रता दिलाए। लगत्तै दौसारीले पहिलो गोल गर्दै हिलालको अग्रता ३-१ मा पुऱ्याए ।
६३औं मिनेटमा सानाब्रियाले गोल गर्दै अल-ऐनलाई ३-२ को स्थितिमा ल्याए। तर, त्यस लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ४-२ मा पुऱ्याए। रहिमीले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै अल-ऐनलाई ४-३ मा पुर्याए। तर, ७५औं मिनेट दौसारीले अर्को
गोल गर्दै ह्याट्रिक पूरा गरे र हिलाललाई ५-३ को स्थितीमा पुर्याए ।
अली अल बुलाहयीले ८२औं मिनेटमा रातो कार्ड पाएर मैदान छाडेपछि हिलालमाथि दबाब बढेको थियो । दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टी पाएपछि रहिमीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
चोटका कारण मैदानबाहिर रहेका नेयमारले ७७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै हिलाल तीन राउन्डपछि नौ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ । पराजित साबिक विजेता समान खेलबाट १ अंक जोडेर ११औं स्थानमा छ ।
